राताेपाटी
https://www.ratopati.com/story/392334/chitrakala-cycle
एकाबिहानै साढे ६ बजेदेखि एक हुल साइकलिस्ट (साइकल चालक)ले ललितपुरको पाटन सहरबाट सुरु गरेको साइकल ¥याली काठमाडौँस्थित पर्यटन बोर्डको कार्यालयमा ७ बजेतिर आइपुगेको थियो । यसमा ललीत कलाकारहरूको हुल मिसिएर एउटा कला कार्यशालाको कार्यक्रम बन्यो ।
‘साइकल कल्चर कम्युनिटी’को पहलमा गएको असोज १४ गते पर्यटन बोर्डको कार्यालय प्राङ्गणमा सम्पन्न यस कार्यशालालाई ‘साइकल कल्चर इन पेन्टिङ’ नाम दिइएको थियो, जसमा २८ कलाकार सहभागी थिए । सबै सहभागीले साइकललाई मूल विषय बनाएर आ–आफ्नै शैलीमा कलाको निर्माण गरे । बिहानदेखि दिनभरि जस्तो चलेको कार्यशालामा हरेक सहभागीले दुई–दुईवटा चित्र तयार गरे ।
साइकलिस्टहरु एकीकृत भएर खोलिएको समूह हो, ‘साइकल कल्चर कम्युनिटी’ । रहर र सोखले साइकल कुदाउँदा कुदाउँदै अलिकता शारीरिक क्रियाकलाप, अलिकता खेल अनि स्वास्थ्यप्रति आकर्षित हुँदा साइकलिस्टहरू एउटा समूहमा जोडिन पुगे । अनि साइकललाई क्रियटिभ आर्टसँग जोड्ने काम गरे । यसरी यो समूहको तौर–तरिका वा कार्य एक अलग्ग फर्म वा संस्कृतिका रूपमा देखापरेको छ ।
कोल्याबोरेटिभ रूपमा सम्पन्न यो कार्यक्रम आफैँमा रोमाञ्चक बनेको थियो । अहिले कोल्याबोरेटिभ कल्चर जुर्मुराउने, एक–अर्का विधालाई सहयोग र सम्मान गर्ने परम्परा राम्रैसँग झ्याँगिन थालेको छ । कला, साहित्य र संगीतलाई आममान्छेको जीवन, दैनिकी, पर्यावरण, वातावरणसँग जोडेर लैजाने एक खालको परम्पराजस्तो भइसकेको छ । उपयोगी वस्तुलाई कलाको पात्र बनाएर कलाकारहरूले अनेक कला सिर्जना गरिरहेका छन् । यस्तै कलाका प्रयोगकर्ताहरूले पनि हरेक कलामा सौन्दर्यता, लालित्य खोज्न थालेका छन् ।
क्यानभासमा साइकल
यो कला कार्यशालामा मानव जीवन, पर्यावरण र आर्थिक आयसँग साइकल कति नजिक रहेछ भन्ने सबै (सहभागी सर्जकदेखि भावक समेत)ले यथेष्ट महसुस गरे । बालक कालको रहर र सोखदेखि मान्छेको जीवनसँग गाँसिएर आएको साइकल प्रौढावस्थामा पनि जीवनको एक अभिन्न सहारा बनेको देखिन्छ । साइकलसँग जोडिएका यिनै स्मरण कार्यशालामा कलाका अनेक रूप बन्न गए ।
साइकलिस्ट अनि कलाकारहरूको अन्तर्संवाद हुँदै अगाडि बढेको कार्यशालाका पचासौँ क्यानभासमा मूर्त–अमूर्त साइकलका चक्का दृश्यावलोकन हुनु आफैँमा अनौठो थियो । साइकल कल्चर कम्युनिटीको कार्यक्रमका संयोजक डा. तारालाल श्रेष्ठ र कलाकारका तर्फबाट कलाकार रवीन कोइरालाको अथक प्रयासको प्रतिफल हो यो कार्यक्रम । विश्व पर्यटन दिवस अनि यस वर्ष परेको ग्रिन इन्भेस्टमेन्टको सन्दर्भ पनि यस कार्यशालामा जोडिएको थियो ।
सयौँ साइलिस्ट र २८ कलाकार एकाबिहानै जम्मा भई अगाडि बढेको यस कार्यशाला धेरै अर्थले महत्त्वपूर्ण देखिन पुग्यो । उमेर पुगेका वरिष्ठ कलाकारदेखि युवा कलाकार सहभागिता यस कार्यशालामा यथार्थदेखि अमूर्त कला जन्मिए । केही कलाकारले द्रूत गतिमा तुलिकाघात चलाउँदै छोटो समयमै सिर्जना सम्पन्न गर्न भ्याइरहेको दृश्य रोमाञ्चक र मनमोहक देखिन्थ्यो । कलाकारहरू कला सिर्जना सकेर जाँदै गरेको अनि हतार–हतार गरेर कला पोत्न कलाकार आउँदै गरेको परिदृश्य रमाइलो देखिन्थ्यो । कोही भने बिस्तारै स–साना रेखालाई तन्मयका साथ बुन्दै रङ र आकारसँग खेल्दै झमक्क साँझ पर्दासम्म कला पोतिरहेका देखिन्थे । अलि पाका कलाकारका तुलिकाघात क्याभासमा प्रहार भइरहँदा साइकलिस्टहरू किंकर्तव्यविमूढ र थोरै अचम्भित भएर अवलोकन गरिरहेको दृश्य रोमाञ्चक लाग्थ्यो । यी सबैलाई अवलोकन गर्दा साइकलिस्टले साइकलको कुदाइको थकानबाट एकक्षण विश्राम गर्दै आनन्दानुभूति महसुस गरेझैँ लाग्थ्यो । कलाकारको आ–आफ्नै तरिका, स्वभाव अनि अभिव्यञ्जना यसरी क्यानभासमा पोखिइरहँदा वातावरण रमाइलो बनिरहेको देखिन्थ्यो । कलाको मेलाजस्तो भएर देखिएको यो कार्यक्रम गर्ने र हेर्नेबीचको राम्रै समन्वय भएको देखिन्थ्यो ।
यो कार्यशालामा किरण मानन्धर, रागिनी उपाध्याय, के के कर्माचार्य, विजय थापा, कृष्ण मानन्धर, मुकेश मल्ल, रतन राई, गोविन्दलाल सिंह डंगोल, सरिता डंगोल, सुनिता राणा, एससी सुमन, रविन कोइराला, मनीषलाल श्रेष्ठ, नरबहादुर विक, जितबहादुर रायमाझी, कृतिचन्द्र शाह, तीर्थ निरौला, हिमालय देवी शाह, कृष्णप्रकाश शाह, राकेशचन्द्र श्रेष्ठ, रमण गुरुङ, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली, सन्तोष सिग्देल, दीपक मेहतो, गीता कुमारी ठाकुर, हरिजंग बमबम, छितेन शेर्पा, अर्जुन बस्नेत, प्रमोद तन्डुकार, सरुना महर्जन आदि थिए ।
साइकल कलाको प्रसङ्ग
साइकललाई विषयवस्तु बनाएर कलाको सिर्जना गर्नु र यसै विषयलाई लिएर कला कार्यशाला गर्नु पनि नेपालमा पहिलो हो । यसअघि नेपाली कलाकारले साइकललाई मूल विषय बनाएर कला सिर्जना गरेको देखिँदैन । अथवा, यस विषयमा खोजखबर गरेर अभिलेखन तयार गरिएको पाइँदैन । यस्तो काम देशभित्र कतै भएको भए पछि उद्घाटित हुँदै जालान् ।
नेपालमा सन् ६० सालको उत्तराद्र्धमा आधुनिक कलाको उदय भएपछि कलामा थिम राख्ने प्रचलन आयो । एउटै विषयमा आधारित भएर कला सिरिज बनाउने प्रचलन पनि यसै बखत सुरु भएको हो । यसअघि एउटै विषयमा अनि सोही विषयमा आधारित भएर अभिव्यञ्जना गर्ने प्रचलन थिएन । पूर्वआधुनिकता र आधुनिकताको सीमारेखा जस्तो भएर थिम वा सिरिजमा आधारित कला देखापरेपछि कलाकारले अनेकौँ विषयमा काम गर्दै आए । यद्यपि दिनचर्याको एक अभिन्न भाग बनेको यो साइकल पहिले कलाको मुख्य विषय बनेको देखिएन ।
विश्व कलाको इतिहासमा भने एउटा यस्तो कालखण्ड वा यस्ता प्रयोगवादी कलाकार देखापरेका थिए, जसले साइकलको सामान्य चक्कालाई खास अवधारणाका साथ प्रयोग गरे अनि अलग्ग प्रकारको मूर्तिका रूपमा यो विश्वमै कालजयी कला भएर स्थापित हुन पुग्यो । विश्व कलाको इतिहासमा यो कला सन् १९१३ मा मार्सल डुचेम्पले बनाएका थिए, ‘बाइसाइकल ह्विल’ नाम दिएर । यो उनको कामलाई पहिलो रेडिमेड वर्कका रूपमा मात्र होइन, पहिलो किनेटिक स्कल्पचरको रूपमा पनि मान्ने गरिन्छ । किनेइटिक आर्ट भनेको यस्तो कलाको फर्म हो, जहाँ भावकले कलाको गतिशीलतालाई महसुस गर्छ । मोसनलाई महसुस गराउने यस्ता विविध प्रकारका कला मूर्त–अमूर्त जुनसुकै आर्ट फर्ममा भए पनि यसको प्रकृति भनेको भावकको मनभित्र गतिको प्रभावलाई सम्प्रेषित गर्नु हो ।
डुचेम्पको ‘बाइसाइकल ह्विल’को जन्मको सन्दर्भ रोचक छ । एकपल्ट डुचेम्प आफ्नै कला स्टुडियोमा बसेर साइकलका चक्कालाई हेरिरहेका थिए । यस सन्दर्भमा उनले भनेका छन् — साइकलको चक्कालाई हेरिरहँदा अगेनोमा आगोको ज्वाला नाचिरहेझैँ महसुस हुन्छ अनि यसलाई कलाको फर्ममा कसरी निकाल्न सकिन्छ भनेर सोचिरहेको हुन्छु ।
साइकललाई लिएर उनले सन् १९१३ र १९१६ मा कला बनाए । दुवै कतै हराएको इतिहासमा उल्लेख छ । यसपछि उनले यही कलालाई सन् १९५१ मा पुनः बनाए । अहिले छापामा देखिने कला यही पछिल्लो कालको हो । यो कलामा चक्का घुम्दा देखिएको मोसन नै सम्भवतः किनेटिक कलाको आधारभूमि बन्न गएको हुनुपर्छ ।
कुरा यत्तिकैमा सकिएको छैन । पश्चिमी कलाको इतिहासमा कलामा बाइसाइकलको सन्दर्भमा अनेकौँ खोजखबरबाट रमाइला–रमाइला प्रसङ्ग उद्घाटित भएको देखिन्छ । कलामा आधुनिकताको शुभारम्भ भएदेखि कलाकार उन्मुक्त हुन खोजे र अरुले लाए–अह्राएको कामभन्दा आफैँ सिर्जना गर्नतिर उन्मुख भए । अर्थात् कमिसन वर्कबाट बाहिर आएपछि अझ भनौँ कलामा स्वतन्त्रता आएपछि (नेपालमा कलामा यस्तो स्वतन्त्रता आएको छ छैन भन्ने गम्भीर प्रश्न छँदै छ) कलाकारहरू साइकलजस्ता अनेक विषयमा पसेको देखिन्छ अर्थात् थरीथरीका सामाजिक, राजनीतिक विषय कलामा प्रवेश गर्न थाले ।
पश्चिमी समसामयिक कलामा डायनामिजम् (गतिशीलता) र स्पिड (गति)लाई जीवन्त ढंगले उतार्न साइकललाई पात्र बनाउने गरेको देखिन्छ । यही दर्शन, सिद्धान्त र विचारका आधारमा कैयौँ कलाका मास्टर्स पिस देखापरे । जस्तै ः सन् १८९६ मा हेनरी डी टुलुज लौट्रेकले बनाएको ‘द सिम्पसन चेन’, सन् १९१३ मा नातालिया गोन्चारोभाले बनाएको ‘द साइकललिस्ट’, मारियो स्किफानोले सन् १९८४ मा बनाएको ‘सोलो’, सल्भाडर डालीले सन् १९४४ मा बनाएको ‘सेन्टिमेन्टल क्योलोक्वी’, फर्नान्ड लेगरले सन् १९४९ मा बनाएको ‘लेजर अन अ रेड ब्याकग्राउन्ड’, पाब्लो पिकासोले सन् १९४२ मा बनाएको ‘बुल्स हेड’, जिन टिङ्ग्लीले सन् १९६० मा बनाएको ‘फ्राग्मेन्ट फ्रम अ ट्रिब्युट टु न्युयोर्क’, क्रिस्टो र जिन क्लाउड (दम्पती)ले सन् १९६२ मा बनाएको ‘¥याप्ड बाइसाइकल अन लगेज ¥याक’ आदि ।
नेपालमा साइकलको इतिहास
कार्यशालामा जम्मा भएका साइकलिस्टले पनि मेचीदेखि महाकालीसम्म साइकल यात्रा गरेको अनुभव सुनाउँदै थिए । साइकलमै तरकारी लगायत सामान बेच्दै हिँडेको पनि काठमाडौँ लगायत सहरमा प्रशस्तै देखिन्छ । तराई क्षेत्रमा स्त्री र पुरुष दुवैका लागि साइकल आवतजावतका सहज माध्यम भएको छ । यस्तै, सहर–बजार र समथर क्षेत्रका कतिपय विद्यार्थीले स्कुल तथा क्याम्पस जान साइकलको प्रयोग गर्छन् । राम्ररी हिँड्न नथालेको शिशुलाई समेत घरभित्रै साइकलमा चढाउनु सामान्य भइसकेको छ । यसैले पनि साइकल मानवको अभिन्न अङ्ग बनेको छ साइकल । अहिले यसैलाई ‘साइकल कल्चर’ भनिन थालिएको हो ।
नेपालमा सन् १९२० मा काठमाडौँवासी अष्टनारायण मानन्धरले पहिलोपल्ट साइकल चढेको अभिलेखन भएको देखिन्छ । पछि उनैले सन् १९२५ मा ‘पञ्चनारायण अष्टनारायण’ नाम राखेर साइकलको पहिलो दोकान खोलेका थिए । महिलाको तर्फबाट सन् १९४० मा सरोजिनी मानन्धरले पहिलोपल्ट साइकल चढेकी थिइन् । साठीको दशकपछि अन्य धेरै सर्वसाधारणले साइकल कुदाउन थाले, विशेष गरेर यातायातका रूपमा । सुरुमा साइकल पसलमा साइकलको दाम एक सय रुपैयाँ थियो रे । युरोपमा सन् १८८९ तिर सेफ्टी बाइसाइकलको परिचय भर्ई एक प्रकारले आन्दोलन भएपछि साइकल चढ्न थालेको देखिन्छ ।
हिजोआज हामीकहाँ साइकल आफैँमा आकर्षक वस्तुको रूपमा देखिँदै आएको छ । सडकमा साइकल लाइनका लागि हरियो रङले पोतिनुदेखि हिमाल वा पहाडका गोरेटो र घोरेटोमा साइकल प्रतियोगिता हुने गरेका छन् । खेलकुदको अहं हिस्सा बनेको यस्ता कार्यक्रमले विदेशी पर्यटकलाई यथेष्ट रूपमा आकर्षण पैदा गरेको देखिएको छ ।
साइकलका लागि सडक
खोज गर्दै जाँदा साइकलले सहर–बजारमा विशेष स्थान पाएको इतिहास भेटिन्छ । मूलतः साइकल युटिलिटी साइक्लिङको रूपमा सयौँ वर्षदेखि मानवसँग रहेको छ । यसैको विकसित रूपमा पछिल्लो समय विश्वका ठुल्ठुला सहरलाई बाइक फ्रेन्डली सिटी बनाउन खोजिएको छ । साइकलका लागि युएसमा ‘बाइक लाइन’ अनि युकेमा ‘साइकल लेन’ छुट्ट्याइएको देखिन्छ । जहाँ साइकल मात्र हिँड्न पाउने व्यवस्था हुन्छ । हामीकहाँ पनि ललितपुर महानगरको सहरी भागको सडकमा हरियो रङ पोतिनु यसैको रूप हो । देशभरि बगुन्द्रो साइकल कुदिरहे पनि अन्य ठाउँमा यसरी सडकमा हरियो रङ पोतेको हालसम्म देखिएको छैन ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)